एसइईको उमेरहद हट्यो

काठमाण्डौं/ माध्यमिक शिक्षा परीक्षा (एसइई) मा लाग्ने उमेर हद हटेको छ । राष्ट्रिय परीक्षा बोर्डले १४ वर्ष उमेर पुगेकाले मात्र दिन पाउने व्यवस्था हटाएको हो ।

बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले यही वर्षबाट कक्षा-१० को परीक्षाका हकमा उमेरहद नलाग्ने जानकारी दिए । अब जति सुकै उमेरकाले कक्षा-१० को परीक्षा दिन पाउँछन्,’उनले भने । उमेर हद कायम गरिँदा परीक्षार्थीहरूलाई समस्या भएको भन्दै त्यो व्यवस्था हटाएको उनको भनाइ छ ।

उनका अनुसार यसअघि नै शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा ऐनमा भएको उमेर हदको व्यवस्था हटाउन बोर्डलाई परिपत्र गरेको थियो ।

यस वर्षको एसइई परीक्षा आगामी वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुनेछ । बोर्डका अनुसार सबै जिल्लामा २ हजार परीक्षा केन्द्र तोकिएको छ । ११ हजारभन्दा बढी विद्यालयबाट करिब ५ लाख परीक्षार्थीले यस वर्षको एसइई परीक्षा दिँदैछन् ।

पढ्न छुट्यो कि !