काठमाडौँ, ककनी – सार्वजनिक सेवामा हुने ढिलासुस्ती, झन्झटिलो प्रक्रिया र शाखा–शाखा धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यसहित ककनी गाउँपालिकाले ‘एकद्वार सेवा प्रणाली (One Stop Service Center)’ सञ्चालनमा ल्याएको छ। यस नयाँ व्यवस्थाले अब सेवाग्राहीलाई एउटै स्थानबाट सेवा प्राप्त गर्ने सुविधा प्रदान गर्नेछ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई ले यस प्रणालीबारे जानकारी दिँदै नागरिकलाई सहज, छरितो र झन्झटरहित सेवा दिनकै लागि यो अवधारणा कार्यान्वयनमा ल्याइएको बताएका छन्।
गाउँपालिकाले सुरु गरेको यस प्रणालीअनुसार कुनै पनि योजना सम्झौता, भुक्तानी प्रक्रिया, कृषि तथा पशु सेवा, उद्योग–व्यवसाय दर्ता लगायतका सम्पूर्ण सेवा एउटै काउन्टरबाट सञ्चालन हुनेछन्। यसअघि नागरिकले विभिन्न शाखामा पुगेर फाइल बुझाउने, कागजात मिलाउने र प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता थियो। तर अब ती सबै प्रक्रिया एउटै प्रणालीभित्रै समेटिनेछन्।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतका अनुसार सेवाग्राहीले ल्याएको फाइल सुरुमा एकद्वार प्रणालीमा दर्ता गरिनेछ। त्यसपछि आवश्यक कागजातहरू सम्बन्धित शाखाबाट आन्तरिक रूपमा नै संकलन गरिनेछ। यदि कुनै कागजात अपुग भएमा सेवाग्राहीलाई सोही स्थानबाट जानकारी दिई आवश्यक कागजात थप्न अनुरोध गरिनेछ। कागजात पूरा भएपछि फाइल प्रशासकीय शाखा हुँदै योजना शाखामा पुगेर आवश्यक प्रक्रिया पूरा गरिन्छ र अन्ततः सम्झौता पनि सोही स्थानबाट सम्पन्न हुन्छ।
भुक्तानी प्रक्रियामा पनि यस प्रणालीले सहजता ल्याउने अपेक्षा गरिएको छ। आवश्यक बिल तथा कागजातहरूको जाँचपछि फाइल प्रशासकीय शाखाबाट लेखा शाखामा पठाइनेछ र अन्ततः इलेक्ट्रोनिक फण्ड ट्रान्सफर (EFT) मार्फत भुक्तानी गरिनेछ। भविष्यमा यसलाई थप प्रविधिमैत्री बनाउँदै फाइल ट्र्याकिङ प्रणाली समेत लागू गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ।
यस प्रणालीमार्फत नागरिकलाई “यो कोठा, त्यो कोठा” धाउनुपर्ने झन्झट अन्त्य हुने विश्वास लिइएको छ। सेवाग्राहीलाई एउटै स्थानमा बसेर सेवा प्राप्त हुने व्यवस्था मिलाइँदैछ, जसले समय बचतसँगै प्रशासनप्रतिको विश्वाससमेत बढाउने अपेक्षा गरिएको छ।
गाउँपालिकाले सार्वजनिक प्रशासनप्रति नागरिकको घट्दो विश्वासलाई मध्यनजर गर्दै सेवा प्रवाहलाई सरल, छरितो र नागरिकमैत्री बनाउने लक्ष्य राखेको जनाएको छ। यस अभियानमा गाउँपालिका अध्यक्षको समेत पूर्ण साथ रहेको र कर्मचारीहरूलाई आवश्यक निर्देशन दिइसकिएको जनाइएको छ।
समग्रमा, ककनी गाउँपालिकाको ‘एकद्वार सेवा प्रणाली’ नागरिक सन्तुष्टि अभिवृद्धि गर्ने, प्रशासनिक झन्झट घटाउने र सुशासन प्रवर्द्धन गर्ने दिशामा महत्वपूर्ण कदम का रूपमा हेरिएको छ।