तारकेश्वर नगरपालिका वडा नं. ४ मा हजारौं मरेको कुखुराको मासु उत्पादन भइरहेको गम्भीर अनियमितता फेला परेको छ। बालाजु प्रहरी वृत्त, मिडिया, र तारकेश्वर नगर प्रहरीको टोलीले प्राप्त सूचनाका आधारमा बिहान ९ बजे उक्त स्थानमा छापा मारेको हो।
वडा कार्यालय नजिकै रहेको दगुर्ने पानी क्षेत्रबाट अनुसन्धान सुरु गरी बालाजु प्रहरी निरीक्षकको कमान्डमा ११ जनाको टोली, तारकेश्वर नगर प्रहरी, र मिडियाको विशेष सहकार्यमा मिलन बस्ती करिडोरमा छापा मारियो। तीनवटा टहरामा मरेको कुखुराको मासु उत्पादन हुँदै गरेको अवस्थामा ठूलो मात्रामा अनियमितता फेला पर्यो।
फेला परेका तथ्यहरू:
२०० केजी प्लास्टिकमा प्याक गरिएको मासु।
३०० केजी फ्रीजमा राखिएको मासु।
१०० केजी दुई बोरामा प्याक गरिएको मासु।
अझै बनाउन बाँकी २०० केजी मासु।
घटनास्थलमा गोर्खा जिल्ला गण्डकी गाउँपालिका निवासी विपिन चेपाङसहित अमित, राजकुमार ओली, राजेश चेपाङ र अन्यले मरेका कुखुरालाई मासुमा रूपान्तरण गरिरहेको अवस्थामा भेटिए।
बालाजु प्रहरी वृत्त, तारकेश्वर नगर प्रहरी, र मिडियाको टोलीसँगै घटनास्थलमा तारकेश्वर नगर उपप्रमुख सृजना बुर्लाकोटी आर्याल र वडा नं. ४ का अध्यक्ष नरेन्द्र दास श्रेष्ठ उपस्थित थिए। मरेको कुखुराको मासु नगरपालिकाको गाडीमा लोड गरी सुरक्षित रूपमा नष्ट (डिस्पोज) गर्न लगाइएको छ।
खाद्य गुणस्तर शाखा र अनुसन्धान टोलीको सहकार्य
खाद्य सुरक्षाका मापदण्ड उल्लङ्घन भएको देखाउँदै घटनाको थप अनुसन्धानका लागि खाद्य गुणस्तर शाखा र प्रहरी टोलीले संयुक्त रूपमा कार्य अगाडि बढाइरहेका छन्।
नगरवासीलाई अपील
यस प्रकारका अनियमित गतिविधिहरू नियन्त्रण गर्न नगरवासीलाई सजग रहन र यस्ता घटनाबारे जानकारी पाए तुरुन्त प्रहरी वा सम्बन्धित निकायलाई सूचित गर्न आग्रह गरिएको छ।
प्रहरी, नगर प्रहरी, र मिडियाको संयुक्त प्रयासले खाद्य सुरक्षामा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।