Online News Portal of Nepal
After Header

अर्याल एआईजीमा सिफारिस

काठमाण्डौं/ गृह मन्त्रालयले सशस्त्र प्रहरी बलमा रिक्त एक अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा नायव महानिरीक्षक (डीआईजी) राजु अर्यालको नाम सिफारिस गरेको छ । गृह मन्त्रालय बढुवा समिति सचिवालयको आइतबार बसेको बैठकले डीआईजी अर्याललाई एआईजीमा सिफारिस गरेको हो । यो सिफारिससँगै अर्याल भावी महानिरीक्षक (आईजी) मा पक्का भएका छन् ।

उनले अब १९ वैशाखदेखि चार वर्षका लागि सशस्त्र प्रहरीको नेतृत्व लिने छन् । सशस्त्र प्रहरी महानिरीक्षकको हालको चार बर्से पदावधिअनुसार उनी १८ वैशाख २०८३ सम्म नेतृत्वमा रहने छन् । एआईजीमा सिफारिस डीआईजी अर्याल वरिष्ठताका आधारमा पहिलो नम्बरमा थिए । पेशाप्रति निडर, इमान्दार र व्यवसायिक छबी बनाएका अर्याल अबको केही दिनमै छोटो समय एक साताभन्दा कम समयका लागि एआईजी बन्नेछन् । वर्तमान महानिरीक्षक पुष्पराम केसीको २० दिने कार्यकाल १८ वैशाखमा सकिएपछि उनको काँधमा सशस्त्रको नेतृत्व जानेछ ।

१८ चैत २०५४ मा नेपाल प्रहरीमा प्रहरी निरीक्षकका रुपमा प्रवेश गरेका उनी नायव उपरीक्षक (डीएसपी) मा सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका थिए । उनीसँगै त्यसबेला उनका ब्याची नारायणदत्त पौडेल, बंशी दाहाल र शम्भु सुवेदी सशस्त्र प्रहरीमा आएका थिए ।
बढुवाका लागि पौडेल, नेपाली सेनाबाट आएका चन्द्रप्रकाश गौतम र दाहालले दाबी गरेका थिए । वरिष्ठताका आधारमा पौडेल दोस्रो, गौतम तेस्रो र दाहाल चौथो नम्बरमा थिए ।

सशस्त्र प्रहरीमा दुई जना मात्र एआईजी रहने व्यवस्था छ । अब वरिष्ठताका आधारमा पौडेल, गौतम र दाहालमध्येबाटै दुई जना एआईजी हुनेछन् । अहिले सशस्त्रमा रामशरण पौडेल मात्रै एआईजी छन् । उनी आईजीपी केसीसँगै अनिवार्य अवकाशमा जाँदैछन् ।

स्रोतका अनुसार, पौडेल र गौतमलाई एआईजी बनाउने सरकारको तयारी छ । अर्याल आईजी बन्ने पक्का भएपछि गौतम एआईजीबाटै अवकाशमा जाने छन् । उनी ३ वैशाख २०५२ मा नेपाली सेनामा प्रवेश गरेका थिए ।

पौडेल भने अर्यालपछि आईजीपी बन्नेछन् । एआईजी पद थप नभएको अवस्थामा दाहाल भने अब डीआईजीबाटै घर जानेछन् । दाहाल १२ माघ २०७६ मा डीआईजी भएका थिए । सशस्त्रमा डीआईजीको पदावधि चार वर्ष रहेको छ । त्यसमा सरकारले चाहेको खण्डमा एक वर्ष थप्न सक्छ । एक वर्ष थप भएको अवस्थामा ११ माघ २०८१ मा उनी अनिवार्य अवकाशमा जाने छन् । त्यसबेलासम्म एआईजी पद रिक्त नहुने हुनाले दाहाल डीआईजीबाटै घर जाने छन् ।

स्रोतका अनुसार, अर्याल र पौडेलबीच जो आईजीपी भएपनि मनदेखि नै स्वीकार्ने र सहकार्य गरी अघि बढ्ने सहमति भएको थियो । सोही सहमतिअनुसार उनीहरुले एकअर्काप्रति कटाक्ष गरेका थिएनन् । विगतमा प्रतिस्पर्धीहरुबीच एकले अर्कोलाई स्वीकार गर्न नसक्दा सशस्त्र प्रहरीले राम्रो बाटो समात्न नसकेको भन्दै उनीहरु यो बाटोमा अघि बढेका हुन् । हक्की स्वभावका अर्यालको कार्यकालमा सशस्त्र प्रहरीले उचाइ लिने सशस्त्रका अधिकृतहरुको विश्वास छ । २४ वर्ष लामो सेवामा उनी कुनै पनि विवादमा आएका छैनन् ।