Online News Portal of Nepal
After Header

निर्वाचनको सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका कर्मचारीलाई महानिरीक्षक राजु अर्यालको निर्देशन

काठमाण्डौं/ सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले स्थानिय तह निर्वाचनको सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका कर्मचारीलाई निर्देशन दिएका छन् । सोमबार अर्यालले हलचोकस्थित सशस्त्र प्रहरीको मुख्यालयबाट स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा पुरा गराउन प्रतिबद्ध भएर लाग्न निर्देशन दिएका हुन् । निर्वाचन सुरक्षामा खटिएका राष्ट्रसेवकहरूले कार्यक्षेत्रमा देखाएको उत्साहपूर्ण परिचालनको प्रशंसा गर्दै सम्पादित कामको अनुगमन गर्न प्रधान कार्यालयबाट अनुगमन टोली समेत परिचालन गरिएको बताए । निर्वाचन सुरक्षामा  विभिन्न निकायहरुसँग समन्वय र सहकार्य गरी आर्थिक अनुशासनमा रहेर मानवअधिकारको सम्मान गरेर जिम्मेवारी बहन गर्न निर्देशन दिएका छन् । आईजीपी अर्यालले लैंगिक हिंसा र गैह्र व्यवसायिक काम गर्नेलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

सशस्त्र प्रहरी कर्मचारीहरुले आफुले गरेका गतिविधिहरुलाई सामाजिक संजालमा सेयर तथा पोष्ट नगर्न पनि अर्यालले कडा निर्देशन दिएका छन् ।  कमाण्डर तहका अधिकृतहरूले विभिन्न सुरक्षा निकायका प्रमुखहरुसँग समन्वय गरेर निर्वाचन क्षेत्रहरुमा सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन निर्देशन दिँदै अर्यालले भने–‘जस्तोसुकै चुनौती भित्र अवसर पनि अवश्य लुकेको हुन्छ सामना गर्न सक्नुपर्छ ।’ उक्त कार्यक्रम लाईभ भिडियो स्ट्रिमिङ्ग तथा सशस्त्र प्रहरी बल नेपालको संचार मार्फत सम्पूर्ण इकाईहरुमा हेर्ने र सुन्ने व्यवस्था मिलाइएको थियो ।

देशभर परिचालित भएका सशस्त्र प्रहरीहरुको स्थलगत अनुगमन तथा निरीक्षण गर्न प्रधान कार्यालयले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक र सशस्त्र प्रहरी उपरीक्षकहरूको नेतृत्वमा वैशाख २५ देखी प्रत्येक प्रदेशमा टोली परिचालन गरेको छ ।  गण्डकी प्रदेशमा कामु एसएसपी कमल प्रसाद तिउसिना, प्रदेश–१ मा  किरण बस्नेत, मधेश प्रदेशमा उद्धव बहादुर न्यौपाने, सुदुरपश्चिम प्रदेशमा राजेन्द्र खड्का, लुम्बिनी प्रदेशमा युवराज अर्याललाई खटाइएको छ । त्यसैगरी सशस्त्र प्रहरी उपरीक्षक टोप बहादुर खनाललाई बाग्मती प्रदेश र अच्युत कुमार मजगैयाँलाई  कर्णाली प्रदेशमा विशेष जिम्मेवारीका साथ निर्वाचन लक्षित सुरक्षामा परिचालन गरिएको छ ।