Online News Portal of Nepal
After Header

राष्ट्र बैंकबाट बचत पत्र किन्दा उक्त दरमै ब्याज पाइने बचत पत्रको ब्याजदर ११ प्रतिशत

काठमाण्डौं/ बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपकर्ताहरूलाई अधिकतम ११.०३ प्रतिशत ब्याज दिइरहँदा अब भने राष्ट्र बैंकबाट बचत पत्र किन्दा उक्त दरमै ब्याज पाइने भएको छ । यसअघि राष्ट्र बैंकले यस्तो बचत पत्रको ब्याजदर १० प्रतिशत तोकेको थियो । राष्ट्र बैंकबाटै उच्च दरमा ब्याज तोकिएकाले आगामी जेठमा बैंकहरूले समेत निक्षेपको ब्याज बढाउने सम्भावना बढेको एक वाणिज्य बैंकका सञ्चालकले बताए ।

राष्ट्र बैंकले यही १८ वैशाखदेखि २२ वैशाखसम्म खुला गरेको नागरिक बचत पत्रको ब्याजदर ११ प्रतिशत तोकिएको छ। चार वर्षमा परिपक्व हुने यो बचत पत्रमार्फत् राष्ट्र बैंकले २ अर्ब रूपैयाँ उठाउन लागेको हो ।

यस्तो बचत पत्रको ब्याज भुक्तानी ६/६ महिनामा हुन्छ । यसमा कम्तीमा दस हजार रूपैयाँसम्म लगानी गर्न सकिन्छ । यस्तो बचत पत्रको धितोमा अन्य बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण समेत लिन सकिन्छ । सरकारका लागि आन्तरिक ऋण उठाउन यस्तो बचत पत्र जारी गरिन्छ। राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ४ अर्ब रूपैयाँको बचत पत्र निष्कासन गर्ने योजना सार्वजनिक गरेको छ ।