Online News Portal of Nepal
After Header

स्थानीय तह निर्वाचन सुरक्षामा खटिएका ४ जना म्यादी प्रहरीको मृत्यु

काठमाण्डौं/ स्थानीय तह निर्वाचन सुरक्षामा खटिएका ४ जना म्यादी प्रहरीको मृत्यु भएको छ । आचरणविपरीत गतिविधि गरेको कसुरमा ४९ म्यादी प्रहरी बर्खास्त भएका छन् । ७ सय ५३ स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य चयनका लागि वैशाख ३० (आउँदो शुक्रबार) मतदान हुँदैछ । निर्वाचन सुरक्षाकै लागि १ लाख म्यादी भर्ना भएका थिए ।

उनीहरुलाई चैत २८ गतेबाट एक साताको सुरक्षा तालिम दिएर प्रहरी जवानसरह सेवा सुविधासहित सम्बन्धित जिल्ला प्रहरी कार्यालय मातहत रहने गरी ४० दिनको ड्युटीमा खटाइएको थियो । प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीका अनुसार निर्वाचन तालिम लिएर ड्युटीमा खटिएकामध्ये ४ जनाको मृत्यु र ४९ जना आचरणविपरीत काम गरेको कसुरमा बर्खास्तमा परेका हुन् । सिन्धुपाल्चोक र नुवाकोटमा खटिएका योगेन्द्र न्यौपाने र दुर्गासिं बस्नेतको दुर्घटनामा परी ज्यान गएको छ । बाँकेका जसबहादुर रोका हुम्लामा खटिएका थिए । उनको सुतेकै ठाउँमा मृत्यु भएको प्रहरी प्रवक्ता केसीले जानकारी दिए । त्य

स्तै सिन्धुपाल्चोककी अनिता भट्टराईले बिष सेवन गरी आत्महत्या गरेकी हुन् । यसैगरी, मादक पदार्थ सेवन, सामाजिक सञ्जालको दुरुपयोग, तोकिएको समयमा अनुपस्थितलगायत आरोपमा ४९ जना जिम्मेवारीमुक्त भएका हुन् । यसमध्ये केहीलाई पक्राउ, कानुनी कारबाही गरिएको प्रवक्ता केसीले बताए । प्रहरी प्रधान कार्यालयका अनुसार मधेस प्रदेशबाट ४, वाग्मती, गण्डकी र कर्णालीबाट ८-८, लुम्बिनीबाट ११ तथा सुदूरपश्चिम प्रदेशअन्तर्गतका जिल्लाबाट ९ जना म्यादी प्रहरी कारबाहीमा परेका हुन् । समाचार आजको कान्तिपुर दैनिक बाट