झापा घटनामा ५१ वटा युट्युब च्यानलमाथि काउन्सिलको निगरानी, १५ वटा च्यानल साइबर ब्युरोमा
प्रेस काउन्सिल नेपालले झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई अतिरञ्जित गर्ने ५१ वटा युट्युब च्यानलमाथि निगरानी गरेको छ । शुक्रबार सम्म काउन्सिलले उक्त घटनालाई ‘अमला काण्ड’ नाम दिइ सनसनीपूर्ण बनाउने, पीडितका भिडियो र फोटो सार्वजनिक गर्ने तथा समाजमा घृणा, द्वेष, उत्तेजना/अफवाह फैलाउने, सामाजिक सद्भाव बिगार्ने सामग्री सम्प्रेषण गरेका युट्युब च्यानल कारबाहीमा परेका छन् ।
५१ वटा युट्युब च्यानलमध्ये १५ वटा युट्युबले साम्रगी हटाउन काउन्सिलले दिएको निर्देशन पालना नगरेपछि थप कारबाहीका लागि साइबर ब्युरोमा पत्राचार भएको छ । यस्तै १६ वटा युट्युब च्यानलले भने काउन्सिलले मौखिक निर्देशन दिएपछि क्षमायाचनासहित सामग्री हटाएका छन् ।
काउन्सिलले ११ वटा युट्यु्ब च्यानललाई पत्राचार गरी पत्रकार आचारसंहिता विपरीतका त्यस्ता सामग्री हटाउन भनेकोमा ७ वटाले सामग्री हटाइ क्षमायाचना सहितको जवाफ पठाएका छन् ।
केही दिन अघि काउन्सिलले झापा घटनाका विषयमा विज्ञप्ति जारी गरी आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण नगर्न र सम्प्रेषित सामग्री हटाउन भनेको थियो । त्यसयता ६ वटा युट्युब च्यानलले काउन्सिलमा उपस्थित भइ क्षमायाचना गरेका छन् भने ७ वटा युट्युब च्यानलले विज्ञप्तिका आधारमा भूलसुधार गरेका छन् ।