Online News Portal of Nepal
After Header

‘बेलुन प्रकरण ः चीनलाई बदनाम गर्ने बहाना’

बेइजिङ– बेइजिङले बेलुन घटना चीनलाई बदनाम गर्ने बहानाका रूपमा प्रयोग गरिएको बताएको छ । विदेश मन्त्रालयकी प्रवक्ताले शनिबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको चीन भ्रमण स्थगन भएको घोषणाप्रति टिप्पणी गर्दै त्यो चीनलाई बदनाम गर्ने चाल भएको बताएकी छन् ।
अमेरिकी सञ्चारमाध्यममा विदेश मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै विदेशमन्त्रीको योजनाबद्ध चीन भ्रमण चिनियाँ बेलुनका कारण स्थगन भएको जनाइएको छ । अमेरिकालगायत पश्चिमा मुलुकका सञ्चारमाध्यमले ‘अमेरिकाको जासुसी गर्न चीनले बेलुन अमेरिकी आकाशमा पठाएको’ समाचार शुक्रबार प्रकाशन–प्रसारण गरेका थिए ।
वायुको वेग र बहावका कारण अनपेक्षितरूपमा मानवरहित वायुयान अमेरिकी आकाशमा प्रवेश गरेको स्वीकार गर्दै चीनले त्यससम्बन्धमा अमेरिकी पक्षलाई जानकारी गराएको विदेश मन्त्रालयकी प्रवक्ताले बताएकी छन् । मौसम विज्ञानसम्बन्धी सूचना संकलन गर्न नागरिकस्तरमा उडाइएको उक्त बेलुन वायु बलका कारण काबुबाहिर हुँदा अमेरिकी आकाशमा पुगेको उनले स्पष्ट गरेकी छन् ।
चीनले सधैं अन्तर्राष्ट्रिय कानुनको अक्षरसः पालना गरेको, कुनै पनि देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सधैं सम्मान गरेको, कुनै पनि देशको भू–भाग वा हवाई क्षेत्रको उल्लंघन नगरेको र उल्लंघन गर्ने कुनै नियत नभएको विदेश मन्त्रालयकी प्रवक्ताले स्पष्ट गरेकी छन् ।
‘संयुक्त राज्य अमेरिकाका केही राजनीतिज्ञ र सञ्चारमाध्यमले चीनलाई बदनाम गर्न यसलाई प्रचार गरेका छन्, चिनियाँ पक्ष यसको विरोध गर्दछ,’ सबै तहमा सम्पर्क र समन्वय कायम गर्ने चीन र अमेरिकी राष्ट्रपतिबीच पछिल्लोपटक बालीमा भएको सहमति स्मरण गराउँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भनेकी छन् । दुवै पक्षले पारस्परिक सम्बन्धलाई सुव्यवस्थित गर्नुपर्नेमा जोड दिँदै उनले केही अप्रत्यासित परिस्थितिलाई ठण्डा र विवेकपूर्ण तरिकाले व्यवस्थापन गर्नुपर्ने बताएकी छन् ।
बेइजिङ र वासिङटनले अमेरिकी विदेशमन्त्रीको चीन भ्रमणबारे औपचारिक घोषणा नै नगरेको परिप्रेक्ष्यमा अमेरिकाले गरेको पछिल्लो घोषणा अमेरिकामा निर्भर रहेको र त्यसलाई चीनले सम्मान गर्ने विदेश मन्त्रालयका प्रवक्ताले बताएकी छन् ।
अमेरिकी विदेशमन्त्रीको टिप्पणीको आलोचना
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनको धार्मिक नीतिबारे गलत टिप्पणी गरेको भन्दै त्यसको खण्डन गरेकी छन् । उनले संयुक्त राज्य अमेरिकाले तथाकथित मानवअधिकार, धार्मिक र जातीय मुद्दाहरू उचालेर चीनको विकासलाई रोक्नले प्रयास नगर्न आग्रह गरेकी छन् ।
सञ्चारमाध्यममा जनाइएअनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता शिखर सम्मेलनमा आफ्नो टिप्पणीमा गत नोभेम्बरमा अमेरिकाले चीनलगायत थुप्रै देशलाई धार्मिक स्वतन्त्रताको गम्भीर उल्लंघन गरेको भन्दै ‘विशेष चिन्ताका देश’ भनेर उल्लेख गरेका थिए । उनले सो टिप्पणीमा मुख्यरूपमा मुस्लिम उइघुर समुदायविरुद्ध नरसंहार चलाइएको भनेर चीनको धार्मिक नीतिको व्यापक आलोचना गरेका थिए ।
प्रवक्ता मओले ती टिप्पणी आधारभूत तथ्यको विपरीत र वैचारिक पूर्वाग्रहका आधारमा गरिएको बताएकी छन् । ‘तिनीहरूले जानाजानी चीनको धार्मिक नीतिलाई नकारात्मकरूपमा चित्रण गर्छन् र चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप गर्ने प्रयास गर्छन्, चिनियाँ पक्ष यसको कडा विरोध गर्दछ,’ प्रवक्ता माओले भनिन् ।
माओले चिनियाँ सरकारले कानुनबमोजिम नागरिकको धार्मिक आस्थाको स्वतन्त्रताको रक्षा गर्ने पनि बताएकी छन् । चीनमा झण्डै २० करोड जनसंख्या धर्ममा आस्था राख्ने छन् । त्यसैगरी तीन लाख ८० हजारभन्दा बढी धर्मगुरु र करिब पाँच हजार ५०० धार्मिक समूह सक्रिय छन् ।
त्यसैगरी एक लाख ४० लाखभन्दा बढी पूजास्थल धार्मिक गतिविधिका लागि दर्ता भएका छन् । जसमा सिनजियाङमा मात्र २४ हजार मस्जिद छन् । ‘तर, संयुक्त राज्य अमेरिकाको यस विषयलाई हेर्ने दृष्टिकोण एकदम फरक, पूर्वाग्रही र नकारात्मक छ,’ माओले भनिन् । यसैबीच प्रवक्ता माओले ७५ प्रतिशत अमेरिकी मुस्लिमले अमेरिकी समाजमा मुस्लिममाथि गम्भीर भेदभाव रहेको विश्वास गर्ने र त्यसैले अमेरिका यस मुद्दामा चीनलाई औंला उठाउने अवस्थामा ररहेको टिप्पणी गरेकी छन् ।
त्यस्तै अर्को प्रसङ्गमा माओले भनिन्, ‘चीनले ‘नरसंहार गरेको’ आरोप अमेरिकी पक्षले प्रचार गरेको घोर झूटबाहेक केही होइन यसमा कुनै सत्यता छैन ।’
उनका अनुसार यहाँको उइघुर जनसंख्या २२ लाखबाट हाल लगभग एक करोड २० लाख पुगेको छ । उनीहरूको औसत आयु ३० बाट बढेर ७४ वर्ष पुगेको छ । ‘यी तथ्यका अतिरिक्त, संयुक्त राज्य अमेरिकाले सिन्जियाङको बारेमा चीनलाई नियन्त्रण गर्न र चीनलाई तल पार्नका लागि केवल बहाना खोजेको मात्र हो । यद्यपि अन्तरराष्ट्रिय समुदायले यो स्पष्टरूपमा देख्न सक्छ,’ माओले भनिन् ।
‘हामी अमेरिकालाई वास्तविक तथ्यको सम्मान गर्न र तथाकथित मानवअधिकार, धार्मिक र जातीय मुद्दा प्रयोग गरेर चीनका विरुद्ध हस्तक्षेप गर्न बन्द गर्न आग्रह गर्दछौं,’ प्रवक्ताले भनिन् ।
ताइवान मामिलामा हस्तक्षेप नगर्न आग्रह
संयुक्त राज्य अमेरिकाले ताइवानका विषयमा हस्तक्षेप नगर्न र ताइवान जलडमरूमा क्षेत्रमा तनाव निम्त्याउने कुनै प्रकारका गतिविधि नग्न विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार उल्लेख गरेकी छन् ।
अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सीका प्रमुख विलियम बर्न्सको हालैको प्रतिक्रियाका चिषयमा सोध्दा प्रवक्ता माओ निङले उक्त टिप्पणी गरेकी हुन् । जसले ताइवानप्रति चिनियाँ नेताको महŒवाकांक्षालाई कम आकलन गर्न नहुने बताएता पनि रुसको कार्यसम्पादनबाट उनी संकुचित छन् ।
‘ताइवान चीनको एक अविभाज्य भाग हो । ताइवानको विषय पूर्णतया चीनको आन्तरिक मामिला हो,’ प्रवक्ता माओले भनिन् । प्रवक्ता माओले ताइवानको विषय र युक्रेन मुद्दा भिन्न प्रकृतिका छन् र तुलना गर्नै नमिल्ने प्रतिक्रिया दिएकी छन् ।
उनले ताइवान प्रश्नको समाधान चिनियाँहरूको विषय भएको र त्यसको निर्णय चिनियाँहरूले नै गर्नुपर्ने बताउँदै अमेरिकाले यस विषयमा अनावश्यक चासो लिन उपयुक्त नहुने धारणा राखेकी हुन् । रासस÷सिन्ह्वा